गगनचुम्बी हिमशिखरहरुको काखमा अवस्थित ऋषिमहर्षिहरुको तपोभुमि, पवित्र तीर्थताल र कुण्डहरुद्धारा परिवेष्ठित मनमोहक प्राकृतिक भूमी नेपालको गरिमा र महिमालाइ उच्च र आकर्षक बनाउने देवस्थलहरु मध्य मध्यपश्चिम क्षेत्रमा रहेको प्यूठान जिल्लाको स्वर्गद्धारी एक अद्धितीय पावन भूमि हो ।
परमेश्वरका अंशावतार श्री १०८ महाप्रभुको तपोभुमि एंव यज्ञस्थल स्वर्गद्धारी पुग्ने जो कोहि हिन्दुहरु पनि आफुलाइ धन्य र कृतार्थ ठान्दछन । हरियालीपूर्ण प्राकृतिक सुन्दरता, अखण्ड यज्ञको पुष्प प्रवाह, ब्राहमणबटुद्धारा उद्घोषित वेदध्वनि, आरतिका समयमा गुञ्जयमान हुने शंखनाद, गाइ र बाच्छाहरुका आकर्षक जम्घट आदिद्धारा आत्मशान्ति एंव पूष्पलाभ गर्न आएका समस्त भक्तजनहरु आनन्दित र भावविभोर बन्दछन् ।
वि.स. १९१६ साल श्रावण शुक्त पुत्रदा एकादशी वृहस्पतीबार अनुराधा नक्षत्रमा रातिको समयमा शुभलग्न र सुभयोग पारी अंशावतार श्री १०८ महाप्रभुले रोल्पाको सखी गा.वि.स. वडा नं. ९ रुम्टीमा गौतम बाबु (शक्तिराम) र उनकी धर्मपत्नी स्वेतकुमारीको कोखबाट समस्त प्राणीजगतलाइ कृतार्थ तुल्याउदैं सम्पुर्ण शुभलक्षणहरुका साथ पृथ्वीतलमा अवतरण गर्नुभएको थियो । बाल्यकालदेखि ने अदभूत लीला चरित्रहरु देखाउने प्रभु महाराजलाइ केहि समय सम्म अन्तरध्यान गराइ भगवान् शकरबाट शिक्षा दिक्षा प्रदान गरिएको कुरा उल्लिखित छ । त्रिकाल दर्शित्व, दूरदर्शित्वका साथै अष्टशिद्धियुङ्क्त महाप्रभुले कलियुगका समस्त प्राणीहरुका कल्याणकालागि पूर्वकल्पमा अखण्ड महायज्ञ गरिएको स्थान स्वर्गद्धारीमा आइ उत्खनन् गराइ यज्ञपात्रहरु भेट्टाइ सोही पूण्यस्थलमा वैदिक व्राहमणहरु जुटाइ वि.सं. १९५२ साल वैशाख शुक्ल पूर्णिमा देखि अखण्ड विश्वशान्ति यज्ञ आरम्भ गर्नु भएको थियो ।
पवित्र एंव आकर्षक मण्डप र त्यसभित्र यज्ञकुण्डको निमार्ण गरी पन्चकुण्डहरुमा पञ्चाग्नि र पाञ्चायनदेवताहरुको स्थापनाका साथ मध्य मूल कूण्डमा आवाल व्राहमण व्राहमचारी टीकाराम गौतमको मुखबाट वैदिकमन्त्रोच्चारण पूर्वक अग्नि प्रादुर्भाव गराइ यज्ञ प्रविष्ट गराएर घृतजलहरीद्धारा घृतधारा र अनेक सुगन्धित वस्तु सहितको चरुहवन गराउदैं अखण्ड प्रज्वलित यज्ञकूण्ड अद्यावधिक समस्त दर्शननर्थीहरुका निम्ति खुला छ ।
दैनिकरुपमा वेद, भगवात, रुद्री, रुद्राभिषेक, गीता, सप्तशती, शिवपराण। देवीभागवत, आत्मपुराण्, योगवाशिष्ठ आदि पाठका साथै त्रिकालिक पूजा , हवन पुष्पाञ्जलि र आरती यहांका नियमित यज्ञानुष्ठानहरु हुन् । यज्ञको प्रारम्भ देखि नै गौशालाको व्यवस्था, तीर्थ यात्रीहरुका लागि सिधा र आवासको व्यवस्था भइरहेकोमा आधुनिक बिजुली र टेलिफोनको व्यवस्था समेत गरिएको छ ।
महेन्द्र राजमार्गको राप्ती नदी किनारको भालुवाङ देखि प्यूठानको भिङ्गीसम्म बसको यात्रा गरी ५ र ६ घण्टाको उकालो पैदल यात्रा नै स्वर्गद्धारीका दर्शनार्थीहरुका निमित्त सबभन्दा सुगम मार्ग हो । हरेक वर्षको वैशाख शूक्ल पूर्णिमामा र कार्तिक कृष्ण औसीका दिन स्वर्गद्धारीमा मेलामा भक्तजनहरुको घुइचो देखिन्छ ।
अखण्ड विश्वशान्ति महायज्ञका अधिष्ठात्रा महाप्रभुको पूण्य प्रताप र कृपाभूमि स्वर्गद्धारीको अलौकिक आनन्द जो सुकै प्राणीरुका लागि पनि अद्धितीय छ । प्रभु महाराजका अद्भुत चरित्र एंव लिलाहरु सून्दा मानीसहरु आश्चर्य चकित बन्दछन् । एउटा डालोमा दुइ पाथी चामल लिइ वितरण गर्न बस्नु भए पछि हजारौं तीर्थ यात्रीहरुलाइ पुर्याएर पनि डालोमा दुइ पाथी नै वाँकी रहेको देख्दा सवै यात्रुहरु दंग पर्थे । भक्तजनहरु स्वर्गद्धारी महाप्रभुको दर्शनार्थ फलफुल भेटी लगायतका यज्ञमा प्रयोग गरिने विभिन्न वस्तुहरु लिइ आउन लाग्दा कतिपय वस्तुहरु यतिमात्र लैजानु भनी घरमा परिवारसंग कुरा भएर पनि परिवारहरुले छुट्टाइदिएको भन्दा वढी लिइ आउँदा परिवारले छुट्टाएको भन्दा वढी किन ल्याएको भनी महाप्रभुले थाहा पाउनु हुने, ती वस्तु ल्याउन लाग्दा घरमा केटाकेटीले माग्दा यो स्वर्गद्धारी लैजान लागेको हो, तिमीहरुलाइ दिनु हुदैन भनेको कुरा समेत महाप्रभुले भक्तजनहरुलाइ भनि दिनु हुँदा सवै अचम्मित भएको घटनाहरु निकै छन् ।
एक पटक प्युठानका काजी साहेवले सप्ताहाको यज्ञमा प्रभु महाराजलाइ निमन्त्रणा पठाएछन । सप्ताहकै समयमा एउटा विशाल सर्प आइ यज्ञ मण्डप वरिपरि घुमेछ । यज्ञमा वसेका अत्तालिएछन । केही वेर पछि सर्प गएछ । सप्ताहको साङ्गेता पछि प्रभुमहाराज आफ्नो यज्ञमा पाल्नुभएन भनी फूल प्रसाद लिएर जाँदा म आएको थिए नि, फलानो फलानो समयमा । प्रभुमहाराजले वताएको दिन र समय सोही सर्प आएको थियो । सर्पको रुपमा सप्ताहयज्ञ दर्शन गर्न प्रभुमहाराज जानु भएको रहेछ ।
भण्डारेले स्वर्गद्धारीको भण्डारमा चामल सिद्धिइ यात्रीहरुलाइ वितरण गर्न नपुगेको कुरा प्रभु महाराजलाइ अनुरोध गरेपछि प्रभुमहाराज भन्नुहुन्थ्यो "भरियाहरुले चामल ल्याउदै छन । " नभन्दै १०/१५ मिनेट पछि २०/२२ जनाले चामल वोकेर ल्याइपुर्याएछन । अन्य यज्ञका राशन र रुपियाँ सिद्धियो भन्दा पनि भएका यस्ता घटनाहरु अनन्त छन ।
प्रभुमहाराज कुनै वेला आँखा चिम्ली राम । राम । कत्रो विनाश । भन्नु हुन्थ्यो त्यसको दुइचार दिन पछि कतै भिषण आगलागी र कतै यान दुर्घटना र भुकम्पका घटनाले ठूलो धनजनको क्षति पुर्याएको खवरहरु सुनिन्थे । प्रभुमहाराजले ग्वालाहरुलाइ बावुहरु आज त्यो वन तिर गाइ नलग्नु पहिरो जान्छ भन्नु हुन्थ्यो नभन्दै त्यो दिन त्यस वनमा पहिरो गएको हुन्थ्यो । आज गाइहरु छिटो ल्याउनु वेलुकापख ठूलो पानी पर्छ भन्नुभएको दिन विहान आकासमा वादलै नहुँदा पनि वेलुका मुसल्धारे पानी परेको हुन्थ्यो ।प्रभुमहाराजका सामु आश्रमका गाइहरु योगेश्वर श्रीकृष्ण साथ लठ्ठीए झै लठ्ठिएको र स्वर्गद्धरी महाप्रभुका लीला चरित्रहरु, अखण्डयज्ञको पवित्र प्रभाव, गौशालाको व्यवस्था र गाइहरुको आज्ञापालन र अनुशासन देख्दा भक्तजनहरु अत्यन्त प्रभावित र आल्लादित वन्थे ।
अखण्ड यज्ञको सञ्चालन संरक्षण ११२ कल्प सम्म हुदै आएको र सो यज्ञ यही भएको वताउनु हुने महाप्रभुराजले यज्ञको साङ्गेता मानवले नगरी कलीको अन्तमा स्वर्गवाट देवताका गुरु वृहस्पती आएर गर्ने बताउनु भएको छ । यस यज्ञ भित्र र यज्ञको क्षेत्रमा लोभानी, पापानी, विध्नवाधा तथा विखण्डित तत्वहरुले प्रवेश पाउन नहुने र यस्तो भएमा उनीहरु नर्क भोगी हुने कुरा पनि महाप्रभुले वताउनु भएको छ ।
यसरी समस्त प्राणि जगतको कल्याण र हितमा जीवन लीला अगाडी वढाइ वैकुण्ठवाट आफूलाइ बोलाएको वताइ आफ्ना शिष्य प्रशिष्य र यज्ञका सहयात्रीहरुलाइ योगशिक्षा र कर्मशिक्षा दिदै वि.स. १९७७ साल मार्ग शीर्ष शुक्ल चतुर्थी तिथि वृहस्पतीवार र अनुराधा नक्षत्रमै महाप्रभु परमाशनमा वस्नुभएको एकै छिन पछि स्वर्गद्धारी आश्रम र वरिपरिको जंगलनै भलल्ल हुने गरी विजुलीको ज्योती देखिइ आश्रमवासीका आँखाहरु तिर्मिराए। अचानक यज्ञमण्डलका घण्टहरु आफै वजे । त्यस पछि महाप्रभुको पार्थिव शरीरवाट एउटा ज्योती निस्किइ सिधै उत्तर तर्फको हिमालय पर्वतमा पुगी अल्पियो । त्यसै समयमा नै महाप्रभु वैकुण्ठ धाममा पाल्नु भयो । महाप्रभुको पाञ्चभौतिक शरीर समाधिस्थ गरिएको ठाँउमा शिवमन्दिर स्थापना गरिएको छ । अग्निकुण्ड र उक्त शिवमन्दिरको दर्शन पछि अहिले पनि हरेक भक्तजनहरुले महाप्रभुबाट शक्ति प्राप्त गर्ने , एकचित्त भएर एउटा वरदान मागेमा पूर्ण हुने विश्वास गरिन्छ । महाप्रभुको पाञ्भौतिक शरीरलाइ वि.सं. १९९७ मा समाधिस्थ गरिएको स्थानमा मन्दिर जिर्णोद्धराको लागि १२ वर्ष पछि उल्खनन गर्दा पनि प्रभुमहाराजको पाञ्चभोतिक शरीर जस्ताको त्यस्तै रहेको कुरा तत्कालीन अवस्थामा जिर्णोद्धारामा संलग्न व्यक्तिहरुबाट सुन्न पाइन्छ ।