खलंगाका बिभिन्न जात्राहरु
२०५८ सालको जनगरणा अनुसार प्युठान जिल्लामा नेवारहरुको जनसंख्या जम्मा ३९०५ मात्र रहेको छ भने हाल सो जनसंख्या बढेर करीव ४१००/४२०० पुगेको अनुमान गरिएको छ । यो प्युठान जिल्लाको कुल जनसंख्याको १.९% मात्र हो । नेवारको कुल जनसंख्याको करीव ८२% ले नेवारी भाषा बोल्दछन भने वाँकीले नेपाली भाषा नै बोल्दछन । प्युठान जिल्लामा नेवारहरुको वस्ति सदरमुकाम खलंगाको वजार क्षेत्र र विजुवार गा.वि.स.को बजार क्षेत्रमा केही वढी रहेको पाइन्छ भने भिंगृ , दाखाक्वाडी, धर्मावती, तोरवाङ, धरमपानी, वरौला, ओखरकोट लगायतका अन्य गा.वि.स. हरुमा पनि नेवारहरुको वस्ती रहेको पाइन्छ । जनसंख्याको हिसावले थोरै र पेशागत हिसावले अधिकांश व्यापार व्यवशायमा संलग्न रहेका नेवार जातिको संस्कृती पनि खलंगा र विजुवार क्षेत्रमा मात्रै सिमित रहेको पाइन्छ । यिनै संस्कृतीहरु मध्ये खलंगाको जात्राहरुको पनि विशेष महत्व छ । जस्को चर्चा तल प्रस्तुत गरिएको छ ।
लाखे जात्रा :
श्रावण कृष्ण चतुर्दशी (गठे मंगल/घण्टाकर्ण) को दिन देखि यो नाच नचाइन्छ । घण्टाकर्ण नामको राक्षसले राम्रो कुरा सुन्न नपरोस भनी दुबै कानमा ठुला(ठुला घण्टा झुण्ड्याइ मानव जातिलाइ सताउने र उनीहरुबाट पैसा (कर) उठाउँदै आफ्नो गुजारा गर्ने गरेको र त्यसै राक्षसको रुपमा त्यस दिन अर्थात घण्टाकर्ण को दिन देखि श्रीकृष्ण जन्माष्टमीसम्म त्यसलाइ नचाइन्छ । ठुलो डरलाग्दो मुखडा, ठुलो टाउको त्यसमा लामो बाक्लो रौं भएको, कम्मरमा घुंघर बानेको र स्थानिय बाजा गाजाको बिशेष तालमा लाखेलाइ नचार्इन्छ । यसमा दुष्ट राक्षसको रुपमा लाखेलाइ प्रस्तुत गरिन्छ र श्री कृष्ण जन्माष्टमीको दिनमा त्यसको अन्त्य गरिन्छ । लाखे लाइ भगवान श्री कृष्णले वध गरे पछि मानव जातीले मुक्ति पाएका थिए र त्यसैका सम्झनामा लाखे जात्रा निकालिने परम्पराको थालनी भएको हो भन्ने भनाइ छ ।
नागा नगिनी नाच :
नागा (नगिनी नेवारी परम्परा एवं चलन चल्ती अनुसार नाग पञ्चमी देखि जनैपूर्णिमाको अघिल्लो दिनसम्म प्रस्तुत गरिन्छ । विशेष रुपले सिंगारिएको नागा (पुरुष) र नगिनी (महिला) को जोडी स्थानीय बाजा मादल, झ्याली र बाँसुरीको बिशेष धुनमा आकर्षक रुपमा नाच्छन र तिनीहरुलाइ साथ दिने स्वांगेको जोडी झुत्रे लुगा लगाइ प्रतियोगि झै सँगै नाच्छन् । स्वांगेको जोडीले बीच बीचमा स्थानीय रुपमा मानिसहरुको जन जीवनसँग गाँसिएको कुरा र सामाजिक बिकृतिलाइ ब्यङ्यात्मक रुपले दर्शकहरुलाइ मनोरञ्जन दिने गरी प्रहशन समेत गर्दछन् । यसको धुन आफ्नै प्रकारको छ । नेवारहरुको पुरानो थलो काठमाण्डौं नागहरुको बासस्थान हो । नेवारहरु नाग देवताको पूजा र श्रद्धामा विश्वास राख्ने जाति भएकोले तिनै नागहरुको सम्झनामा र श्रद्धामा यो जात्राको थालनी भएको हो भन्ने भनाइ छ । यो जात्रा अन्य नेवारको बस्ति भएको जिल्लाहरुमा पनि देखाउने प्रचलन छ तापनी यहाँको बाजाको ताल भने आफ्नै किसिमको छ ।
तायमचा :
यो जात्रा जनै पूर्णिमा वा ऋषितर्पणी पूर्णिमाको दिन बेलुकी र अर्को दिन बेलकी निकालिने संस्कति हो । यसको प्रचलन काठमाण्डौंका राजा प्रताप मल्लको पाला देखि शुरु भएको हो । राजा प्रताप मल्लका छोराको देहावसान भएपछि विह्यवल भएकी रानीलाइ सान्त्वना दिनको लागि विभिन्न् जात्राहरु प्रस्तुत गरेका थिए भन्ने कुरा इतिहासमा पनि प्रष्ट पाइन्छ । यहाँको गाइजात्रे प्रर्दशन भक्तपुरमा निकालिने तयमचा : (गाइजात्रा) सँग बढी मेल खाएको देखिन्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने यहाँका नेवारहरु पनि कोहीँ भक्तपुरबाट बिस्थापित भएर आएका थिए । पूर्णिमाको दिन देखि नेवार समुदायका प्रत्येक मृतकका घरबाट मृत आत्माको मुक्तिको कामना गर्दै कुनै गाइको स्वरुप र कुनै डोको माथि अग्लो रुप दिइ सिंगारिएको गाइ बिशेष स्थानिय बाजा र आफ्नै प्रकारको धुन सहित नाच्दै मन्दिर र बजार धुमी घर भित्राइने चलन छ । अर्को दिन पनि सोही अनुसार गरिन्छ । ऋषितर्पणीमा अन्यन्त मांगलिक र शुभ दिन हो र यो दिन स्वर्गको ढोका खुल्ला रहन्छ भन्ने मान्यता पनि छ । मोक्ष दर्शनमा विश्वास राख्ने नेवारहरुले मृतक आत्मालाइ तायमचा (गाइको रुप) को रुपमा प्रस्तुत गरी बैतर्नी तराइ स्वर्ग सम्म पुगिन्छ भन्ने प्रचलन छ । तायमचाको साथमा २ जना सिंगारिएको जोडीलाइ स्वर्गको परिको रुप मानिन्छ जसले बाजाको मिठास धुनमा नाच्दै स्वर्गको बाटोको अबरोधलाइ खुसी पार्दै मृतक आत्मालाइ स्वर्गमा पुर्याउन सहयोग पुर्याउँछन् भन्ने बिश्वास छ ।
निर्गुण रामायण :
यो संस्कृति पनि जनै पूर्णिमाको दिन देखि शुरु गरिन्छ । नेवारी संस्कृतिको विकसित रुपमा निर्गुण रामायणको प्रदर्शनलाइ लिन सकिन्छ । बिशेष गरेर मृत आत्माको चिर शान्तीको कामना गर्दै भगवानको सरणमा पर्दै मोक्ष प्राप्ती होस् भन्ने कामना तथा कालको अबश्यभावित, हाम्रो नश्वर सरिरको अस्थित्वको कुरालाइ कारुणिक लयमा प्रस्तुत गर्दै श्री गणेश भगवान संग मांगलिक बन्दना सहित बजा परिकर्मा गरिन्छ । यसमा मृतकाको पूर्ण जीवनी र उनीबाट प्राप्त ज्ञानगुणका कुरालारइ संगितबद्ध गरि गाइन्छ । यसमा कलाकारहरु बिशेष प्रकारको साँस्कृतिक पहिरनमा सिंगारिएका हुन्छन् जसले दर्शकहरुलाइ थप आकर्षित गरेको हन्छ । नेवारहरुको उद्गम स्थल काठमाण्डौं उपत्यका भएता पनि त्यहाँ यो जात्रा कमै प्रचलनमा छ भने पाल्पा तानसेनमा यसको चलन बढी र धेरै पहिले देखि चलेको कुरा सुनिन्छ । यहाँ पनि तानसेनबाट यो संस्कृति भित्रिएको हो भन्ने भनाइ रहेको पाइन्छ । यस जिल्लामा निर्गुण रामायण प्रथम पटक वि.स. १९९० मा प्रस्तुत गरिएको थियो भने यसलाइ बेला बेलामा निरन्तरता दिने कार्य जारी छ ।
छिनीमिनी जात्रा :
यो जात्रा जनै पूर्णिमाको भोली पल्ट प्रस्तुत गरिन्छ । यस जात्रामा साना साना केटा केटीहरुलाइ गोप (गोपीनीको रुपमा सिंगारिएको हुन्छ । ति सिंगारिएकाहरु कृष्णजीको रुपमा सिंगारिएको व्यक्तिको पछि पछि बाँसुरी र बाजाको तालमा नाच्दै बाजार घुम्ने गर्दछन । यसबाट के बुझिन्छ भने भगवान श्री कृष्ण मानवमात्रका पथ प्रदर्शक हुन्, मोक्ष प्राप्तिका गुरु हुन् । अर्को शब्दमा भन्नु पर्दा मानव रुपमा स्वयं भगवान हुन् । उनको लिला गाथाले प्रदर्शनले मुक्तिको बाटो खुल्छ भन्ने मान्यातामानै यो जात्रा चलन चल्तीमा आएको हो भन्ने भानाइ रहेको छ ।
गाइजात्राको पुरक जात्रा बहुरुपी जात्रा (भदौरे जात्रा):
जनै पूर्णिमाको तेस्रो दिन प्रस्तुत गरिने यो जात्राको आफ्नै किसिमको महत्व छ । एउटा राज्यको पूर्ण स्वरुपलाइ प्रतिविम्वित हुने गरी राजा, रानी, मन्त्रीगण, लावालस्कर सिपाइहरु, योगी सन्यासीहरु, विभिन्न साँस्कृतिक टोलीहरु र मुलुकका विशेष पहिचानका कुराहरुलाइ पनि यस जात्रामा प्रस्तुत गर्ने गरिन्छ । जात्रे सरकारले केन्द्र र स्थानीय व्यक्तीहरुको कियालापहरुको खुला र रोचक रुपमा आलोचना र कार्य अनुसारको दण्ड पुरस्कारको घोषणा खुला मञ्चमा गर्ने गरिन्छ । विभिन्न ओहदामा रहेका व्यक्तिहरुको जनगुनासाहरु खुलासा गर्ने र मान पदवी, सरुवा, खोसुवाको घोषणा गर्ने चलन छ । पहिले राजाहरुको बोली नै कानुन हून्थ्यो । जनताका कुनै पनि प्रजातान्त्रिक अधिकार थिएन । तर पनि त्यतिवेला राज्यमा जनचाहना र जनगुनासो कस्तो छ भन्ने कुरा बुझ्ने अवसरको रुपमा १ दिनको लागि मात्र भए पनि जात्राको रुपमा स्वतन्त्रता प्रदान गरिएको हो भन्ने मान्यता रहेको छ । यस जात्रा राणारुको एक तन्त्रिय हुकुमी शासन हुँदाको समयमा पनि प्रस्तुत गर्ने गरिएको कुरा बुढा पाकाहरुबाट थाहा भएको छ। । यो जात्राकै माध्यमबाट तत्कालीन सरकारले आफ्नो प्रतिकिरिया बुझ्ने गर्दथ्यो भन्ने भनाइ पनि छ ।
रोपाइ जात्रा:
यो जात्रा जनै पूर्णिमाको तेस्रो दिन साँझमा प्रस्तुत गरिन्छ । जात्राहरुमध्ये यो निकै रोचक र आकर्षक मानिन्छ । एउटा पूर्ण एवं व्यवस्थित रोपाइको प्रस्तुती पञ्चेबाजाको ताल र कटुवालेको ठुलो स्वरको खबरदारीका साथ आफ्नै किसिमको सहनाइ र बाँसुरी लगायत पञ्चेबाजाको विषेश धुन र तालमा गीत गाउदै रोपाराहरु रोपाइमा मस्त हुनछन् । जात्रामा रोपारा लगायत अन्यको खानाको व्यवस्था गर्नेहरु पनि विभिन्न रुपमा सिंगारिएका हुन्छन् । सँगसँगै माछा मार्ने टोली, सिंगारेहरु, कोदालेहरु, मानव गोरु एवं हलीहरुको प्रर्दशनीले थप रोचकता प्रदान गरेको हुन्छ । नेवारको उद्गम स्थल काठमाण्डौ, भक्तपुरमा बस्ने नेवार जातिहरुले कृषि पेशालाइ मुख्य पेशाको रुपमा लिने गरेको र त्यहि पेशालाइ सम्मान गर्दै नेवार जातीको यो जात्रा शुरु गरेको हो भन्ने मान्यता छ र यहाँका नेवारहरु पनि काठमाण्डौं, भक्तपुरबाट विस्थापित भएर आएकाले यहाँका नेवारहरुले पनि त्यसलाइ अंगिकार गरेको हो भन्ने भनाइ छ । यो जात्रा नेवारहरु रहेका विभिन्न जिल्लाहरुमा पनि प्रस्तुत गरिन्छ तर यहाँको बाजाको धुन र प्रदर्शनी आफ्नै प्रकारको छ ।
कृष्णजी रथयात्रा:
श्री कृष्ण जन्माष्टमीको दिन भगवान श्री कृष्णको भजन किर्तन गरी रातभर जागाराम बस्ने प्रचलन छ र अर्को दिन भगवान श्री कृष्णजीलाइ रथमा सिंगारी भजन किर्तनका साथ यात्रा गराइ बजार घुमाउने गरीन्छ । यस जात्रामा राधा कृष्ण, राम सीता, हनुमान, शिव पार्वती, ऋषिमुनीहरु, नारद, गोपीनीहरु लगायतका अन्य विभिन्न रुपमा सिंगारिने चलन छ । यस जात्रालाइ ८/१० वर्ष अघि मात्र बढी भव्यताका साथ प्रस्तुत गर्ने गरिएको छ ।