Welcome To Our Website. - प्युठान जिल्लाको एक परिचय
   
www.shrestha.page.tl
  मुख्य पृष्ठ
  स्वागतम्
  तपाईको मत सर्बेक्षण
  Comment Box
  प्युठान जिल्लाको एक परिचय
  श्री स्वर्गद्धारी महाप्रभु चरित्रम्
  सञ्जीवनी मेडिकल हल
  स्वर्गद्धारीको परिचय
  आयुर्वेद
  जडिवुटि तथा घरेलु उपचार
  खलंगाका बिभिन्न जात्राहरु
  प्यूठान जिल्लाको इतिहास
  तस्विर संग्रह 4
  Earn Online Money
  NEPALI FM STATIONS
  RAPTI ZONE OF NEPAL
  Beej Mantra Therapy
  NTC CRBT CODES
  तस्विर संग्रह
  तस्विर संग्रह 1
  तस्विर संग्रह 2
  तस्विर संग्रह 3
  Swargadwari Mahatsob
  Rudraksha Therapy
  Music Zones
  मोवाइल एस.एम.एस सन्देश
  HEALTH
  Anatomy & Physiology Figures
  आजको राशीफल
  साहित्य संसार
  Yoga
  Lryics Of English Songs
  GAMES
  Love poems site
  About Pyuthan
  Country lists
  Free download Mobile software
  Web tools
  Send Free SMS
  Total visitors
  Teleshop products

© 2013


 

 

प्युठान जिल्ला एक परिचय

 

 

प्युठान जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी , पश्चिममा रोल्पा र दाङ, उत्तरमा वाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन । समुन्द्र सतहवाट ३०५ मीटर देखि ३६५९ मीटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ । विश्वमान चित्रमा प्युठान जिल्ला २७ डिग्री ५२ मिनट देखि २८ डिग्री २१ मिनट उत्तरी अक्षांश र ८२ डिग्री ३६ मीनट देखि ८३ डिग्री ३६ मीनट पूर्वी देशान्तरमा अवस्थित छ । यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलीएको छ । यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ । राजनैतिक विभाजन अनुसार २ निर्वाचन क्षेत्र , ११ इलाका, ४९ गा.वि.स.मा विभाजित यो जिल्लामा जनमोर्चा नेपाल, ने.क.पा. एमाले, नेपाली कांग्रेस , राष्टि्रय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को प्रभाव रहेको पाइन्छ ।

 

पश्चिम विजय अगाडिको प्यूठानको राजनैतीक स्थिति

 

प्यूठान चौबिसे राज्य अन्तरगतको एउटा शक्तिशाली राज्य थियो । पृथ्वी नारायण शाहको नेपाल राज्यको स्थापना पश्चात पश्चिमको चौबिसे राज्यलाइ नेपाल राज्यमा गाभ्नु अगाडि प्यूठानको मुख्य राज्य र राजाको रुपमा भित्रिकोटमा चन्द वंशीय राजालाइ लिइन्छ । प्यूठानलाइ १४००० प्यूठान भन्ने चलन पनि थियो । प्यूठानलाइ नेपाल राज्यमा गाभ्न पाल्पा राज्यको सन्धिले सहयोग गरेको देखिन्छ । हालको‍ सदरमुकाम खलंगालाइ नेपाली फौजीले आफ्नो केन्द्र बनाएको कुरा देखिन आउछ । भित्रिकोटका अन्तिम राजा रुद‍ प्रताप चन्द हुन । नेपाली फौजीका प्रधान सेनापति काजी दामोदर पाण्डे , काजी जगजीत पाण्डे, तथा सरदार फौजी सिंह र वादल सिं थापाले नोभेम्वर १७८६ इश्वी सन ( कार्तिक १९, १८४३ वि. सं.) मा भित्रिकोट राज्यलाइ नेपालमा मिलाएका थिए ।

 

नेपाल राज्यमा गाभिएपछिको प्रशासनिक स्थिति

 

लडाइ सकिएपछि यस क्षेत्रको प्रशासनिक कार्यहरु मिलिसिया सैनीक प्रमुखबाट चलेको देखिन्छ हालको सदरमुकाम रहेको सम्पुर्ण क्षेत्र सेना नियन्त्रणमा थियो । खलंगामा मिलेसिया सैनिक आवास बाहेक पहिलो मन्दिर खलंगा ४ स्थित श्री रामेश्वर महादेवको मन्दिर हो । जंगबहादुरका बाजे राम कृष्ण कुंवर मेगजिन स्थापनाको सिलसिलामा प्यूठान आउदा सन्‍ १७७१ मार्च २१ मा प्यूठान मै मृत्यु भएको थियो । रणजित कुंवरबाट नै महादेवको मन्दिर आफ्नो बुबाको सम्झनामा स्थापना गरेको देखिन्छ । पछि जङ्ग बहादुर राणा श्री ३ भएपछि रणोद्धिप सिंहको आज्ञा अनुसार आफ्नो वाजेले प्यूठान खलंगामा बनाइ वक्सेको श्री रामेश्वर महादेव मन्दिरमा २ धार्नीको घण्ट चढाइ दिनु भन्ने हुकुम भए अनुसार तत्कालीन मेगजिनका कप्तान घोलक सिं वस्न्यातले वि.सं. १९२४ कार्तिक १४ रोज १ मा चढाएको पाइन्छ । त्यस्तै खलंगग ४ स्थित सम्बत १८६१ मा बनेको अर्को घर पौवा हो । पछि हाल माल कार्यालय अगाडिको भिमसेनको मन्दिर बनेको देखिन आउँछ । मन्दिरको निमार्ण सम्बत्‍ १८८२ मा भएको कुरा मन्दिरमा रहेको शिलापत्रमा उल्लेख छ । भिमसेनको मन्दिर संभवत: न्यायिक शक्तिको लागि, मिलियासको शक्तिको रुपमा स्थापना गरिएको अड्‍कल गर्न सकिन्छ । श्री रामेश्वर महादेव मन्दिरको स्थापना संगै खलंगा ४ स्थित श्री गणेश को मन्दिर पनि रणजीत कुंवरले स्थापना गरेको देखिन्छ । उक्त गुठी पत्रमा उल्लेख भए अनुसार रणजीत कुंवरले रामेश्वर महादेव १, श्री दुर्गा ज्यू १ र श्री गणेश २ स्थापना गरेको पाइन्छ र श्री ५ सुरेन्द्र विक्रम शाहबाट थप गुठी वस्सेको कुरा उल्लेख नभएकोले व्यारेकमा रहेको दुर्गा भगवती हो कि भन्ने कुरा आउछ ।(हाल प्यूठान खलंगा गुल्ममा रहेको दुर्गा भगवतीको पूजा आजाको लागि दल कम्पनीबाट नै सामाग्री खर्च प्राप्त हन्छ) । साथै तुषारा प्यूठानमा रहेको गुठी जग्गाबाट तिरो प्राप्त हुने हुदा सोहि दुर्गा भगवति भएको कुरा देखिन आउछ । मन्दिरको पूजा (आजाको लागी प्यूठान मेगजिनका कृष्ण नेवारलाइ सम्बत १८८२ मा श्रावण ८ गते पुजारी तोकी बक्सेको लालमोहरमा उल्लेख गरेको पाइन्छ । संम्बत्‍ त्यस्तै बेला देखि खलंगा, प्यूठानमा नेवार जातीको बस्ती शुरु भएको तथ्य पनि अगाडि आँउछ । खलंगा ४ मा रणजीत कुंवर मार्फत बनेको रानी पौवाको संचालनको लागि सम्बत १८६१ भाद्र ३ रोज ६ मा नब्बे मुरी खेत लालमोहर गरि बक्सेको छ । प्यूठान खलंगा सामरिक महत्वको मात्र ठाउँ नभएर लडाइको लागि आवश्यक पर्ने वारुद, बन्दुक, तोप आदि बनाउने प्रमुख केन्द्रको रुपमा रहेको पाइन्छ । यहाँ दिनको १ नाल तयारी बन्दुक बनाउने मेगजिन थियो । मेगजिन इ. १७८६ तिर बहादुर शाहले स्थापना गर्न लगाएका थिए । मेगजिनका प्रमुख मिस्त्री शिवलाल नकर्मी भक्तपुरका थिए । उनका पुस्तौनि मिस्त्री अम्बर प्रसाद नकर्मी समेत प्यूठान गौडा अन्तरगत रहेको मेगजिनमा २०१८ साल सम्म कार्यरत रहेको देखिन्छ । वि.सं.१८७१ देखि १८७३ मा अंग्रेज नेपालको विचमा युद्ध हुंदा प्यूठानको फलाम प्रयोग गरी संगिन तोप वनाएको कुरा पाइन्छ । २०१६ साल सम्म हाल खलंगा प्यूठानमा रहेको व्यारेक क्षेत्रमा हजारौं मुरीको वारुदको भण्डार थियो । त्यस्तै बिजुवार गा.वि.स. पुण्यखोलाको सैनिक क्षेत्रभित्र लगभग ५ हजार मुरी वारुदको भण्डार थियो । खलंगा प्यूठानको जिल्ला कार्यालय देखि प्रहरी कार्यालय सम्मको सबै माटो, कालो देखिनु वारुद तोप बनाउने कारणले हुन सक्छ । यहाँ प्रशस्त मात्रामा बन्दुक तथा पचासौं संख्यामा तोपको नाल थियो । वि.सं. १९१५ सालमा कप्तान धोलक सिं वस्न्यात मार्फत प्यूठान मेगजिनमा बनाएको १४६ धार्नीको बम अद्यापि खलंगा प्यूठान (व्यारेक) मा सुरक्षित छ । यस प्रकार खलंगा प्यूठानमा पश्चिम विजयको लागि र अंग्रेजसंगको युद्धको निमित्त आवश्यक वारुद, शस्त्र निमार्णको केन्द्र र भण्डार समेत भएको स्पष्ट हुन्छ । प्यूठानको पश्चिमको विजयमा भवानी वक्स गुल्म, श्री नाथ, रामदल, नयाँ श्री नाथ आदि कम्पनीले लडाइमा भाग लिएको देखिन्छ । मिलेसिया सैनीकले गुरुजुपल्टनको जस्तो कालो भोटो, सुरुवाल र कालोफेटा प्रयोग गरेको पाइन्छ युद्ध सामाग्रीको निर्माण स्थल तथा भण्डार र मिलिसिया सैनिकको वसोवास मात्र रहेको खलंगामा प्यूठानमा लडाइ पछि अस्थायी रुपमा झुपडी बनाइ बन्द व्यापारको लागि आइ बसेको, नेवार जातिका महाजनहरुलाइ अस्थायी घरलाइ पक्की स्थायी घर बनाउन आवश्यक हुदैं गएपछि पक्की घर बनाइ बजार विस्तार गरी पाउँ भनी सम्बत्‍ १८९० मा काजी कीर्तिध्वज पाण्डे मार्फत र सम्बत्‍ १८९७ मा सर्दार रणभद्र वस्न्यात मार्फत महाराजाधिराजमा जाहेर हुँदा अमालिबाट झिगटी ल्याइ आफु बस्ने घर पक्का बनाउन इजाजत प्राप्त भएको र सो बेला सबै काम मिलिसिया सैनिक प्रमुखबाट हुने गरेको देखिन्छ । नेपालमा जङ्ग बहादुर राणाको उदय पछि २००७ साल भन्दा अगाडि सम्म यो जिल्ला पाल्पाको कमाण्डीङ अन्तरगत पर्दथ्यो । त्यसै बेला जिल्लालाइ प्रशासकीय रुपमा ६ थुनामा बांडीएको पाइन्छ ।

 

जनसंख्या विवरण

 

वि.स. २०५८ सालको राष्टि्रय जनगरणा अनुसार यस जिल्लाको कुल जनसंख्या २,१२,४८४ रहेको छ । जसमध्ये १,१४,०९४ जना महिला र ९८,३९० जना पुरुष छन । कुल ४०,२६३ घरधुरी रहेका छन । सरदर परिवार संख्या ५.२८ जना र जनघनत्व २.१२ प्रति वर्ग कि.मी. तथा हालको जनसंख्या वृद्धिदर २.१२ प्रतिसत रहेको छ ।

 

मुख्य वोलिने भाषाहरु

 

जिल्लामा मातृभाषाको रुपमा वोलिने मुख्य भाषाहरुमा नेपाली १,९०,१७३ जना ( ८९.५ प्रतिसत ), मगर १९,१२४ जना ( ९ प्रतिसत ), नेवार ३१८७ जना ( १.५ प्रतिसत ) रहेका छन ।

 

जनजाती विवरण

 

जिल्लामा सवभन्दा धेरै मगर/गुरुङ जाती ६६१६७ जना (३१.१४ प्रतिसत) रहेका छन । त्यसपछि क्षेत्री ५१,७४० जना ( २४.३५ प्रतिसत ), वाहुन २८,३०३ जना (१३.३२ प्रतिसत), सुनार कामी २७,९४२ जना (१३.१५ प्रतिसत ), अन्य ३८,३३२ जना ( १८.०४) रहेका छन ।

 

जनजीवन

 

धार्मिक हिसावले यहाँ मुख्यतया हिन्दुहरु वढी छन । वौद्ध इस्लाम, धर्म मान्नेहरु पनि केही मात्रामा पाइन्छन । जातीगत रुपमा क्षेत्री, वाहुन, मगर, गुरुङ, नेवार, सार्की, गाइने, वादी, कुमाल, धामी आदी जातका मानिसहरु एउटै घर्म भाषा सं‌‌स्कृती भित्र रहेर विभिन्न समूहमा वसेका छन । सामान्यतया लेक, डाँडाकाँडामा मगर, गुरुङ, वेशी समथर उर्वरा भूमीमा क्षेत्री, वाहुन, कामी, सार्की र व्यापारिक नाका केन्द्रहरुमा नेवारहरुको वस्ती वढी छ ।

 

यातायात

 

पूर्व पश्चिम राजमार्गको भालुवाङवाट पूर्व उत्तर दरवान, वडडाँडा, चकचके, विजुवार, वाग्दुला हुदै सदरमुकाम खलंगा जाने ७२ किलोमीटर सडक बर्षभरी नै वस सञ्चालन हुने पक्कि कालो पत्रे
वाटोको रुपमा निर्माण भैसकेको छ । चकचके देखि भिंग्री हुदै रोल्पा तर्फ वस सेवा संचालन भएको छ । सहायक मार्गको रुपमा वाग्दुलावाट मच्ची गौमुखी हुदै गुल्मी जाने ४७ किलोमीटर सडक निर्माण भैरहेको छ भने वाग्दुलावाट दम्ति, वहाने हुदै स्याउलीवाङ सम्म जाने ४५ किलोमीटर सडकको निर्माण कार्य जारी छ । त्यसरी नै खलंगा जोगीटारीको २१ किलोमीटर सडकलाइ अर्घाखाँची जोडने कार्य अगाडी वढीरहेको छ । चेरनेटावाट खैरा हुदै खलंगा जोडने १४ कि.मी. वाटो पनि करीव सम्पन्न भैसकेको छ । जिल्ला स्थित अन्य वाटाहरुको पनि निर्माण कार्य भैरहेको छ ।

 

पूलहरु

 

वि.वि.एल.एल. मार्फत यस जिल्लामा झोलुङ्गे पुल निर्माण गर्ने कार्य तीव्र रुपमा अगाडी वढेको छ । २०५० साल देखि हालसम्म ३७ वटा झोलुङ्गे पुलहरुको निर्माण कार्य सम्पन्न भैसकेको छ । आ.व. २०६१/२०६२ मा थप १० वटा पुलहरु एघारौ जिल्ला परिषदले निर्माणको लागि छनौट गरेको छ ।

 

भु–वनावट

 

जिल्लाको दक्षिणी भाग चुरे क्षेत्र, पश्चिमी भाग महाभारत क्षेत्र पर्दछ भने उत्तरी भुभाग मध्य–हिमाल क्षेत्रमा पर्दछ । यस जिल्लाको चट्टानहरुमा फाइलाइट, डोलामाइट, स्लेट, चुन ढुंगा, क्वार्जाइट आदि पर्दछन भने वलौटे, दोमट र चिम्लाइलो प्रकारको माटो वढी मात्रामा पाइन्छ ।

 

भू–उपयोग

 

जिल्लाको कुल क्षेत्रलाइ उपयोगको हिसावले हेर्ने हो भने खेती योग्य जमिन २८,१७१ हेक्टर ( २२ प्रतिसत ) , वन जंगल ७२,६९४ हेक्टर ( ५६ प्रतिसत ), चरन २७,७८९ हेक्टर ( २२ प्रतिसत रहेको छ ।

 

नदी नालाहरु

 

यस जिल्लाको मुख्य नदीहरुको रुपमा भिमरुक र माण्डवी ( माडी ) रहेका छन । यी नदीहरुको सहायक नदीहरुमा भिमरुक अन्तर्गत लुङखोला, गर्तङखोला, चुदरी खोला, जुम्री खोला, काँतरे खोला, खप्रङ खोला, हरिया खोला, पतेरे खोला, छापे खोला आदी रहेका छन भने माण्डवी नदी अन्तरगत धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला पर्दछन । भिमरुक खोलामा धेरै फाँटहरु रहेका छन जस्तै विजुवार दाखा फाँट, वाग्दुला फाँट, वरौला फाँट, मरन्ठाना फाँट, अर्गलीफाँट, चिसावाङ फाँट, रातटारी फाँट, गर्तङ फाँट आदी रहेका छन भने माण्डवीमा तुलनात्मक रुपमा अति नै कम फाँटहरु रहेका छन । चिदीबास फाँट, हंसपुर फाँट, माझीदमार भिग्रीफाँट आदी फाँटहरु रहेका छन ।

 

शैक्षिक अवस्था

 

जिल्लाको शैक्षिक अवस्थालाइ हेर्दा महिलाको तुलनामा पुरुष धेरै अगाडी भएको पाइन्छ । जिल्लाको कुल साक्षरता ४७.४ प्रतिसत रहेको छ जसमा ६२.४ प्रतिसत र महिला साक्षरता ३४.०२ प्रतिसत छ । जिल्लामा एक मात्र अस्थाथी क्याम्पस विजुवार पुण्यखोला अवस्थित छ । एक उच्च माध्यमिक विद्यालय, ३१ माध्यमिक विद्यालय, ३४ निम्न माध्यमिक विद्यालय र २३३ प्राथमिक विद्यालय विभिन्न स्थानमा रहेका छन ।

 

स्वास्थ्य तर्फ

 

जिल्ला स्वास्थ्य कार्यालय १, जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २ , स्वास्थ्य चौकी ११, उपस्वास्थ्य चौकी २९, आयुर्वेद औषधालय ३ संचालित छन ।

 

संचार तर्फ

 

जिल्लामा संचारका लागि पि.सि.ओ. २४, व्यक्तिगत टेलिफोन २८१, कार्यालय टेलिफोन ७८, भिसेट २, यन सेल, हेलो नेपाल, वल्र्डलिङ्क  टेलिफोन सेवा उपलव्ध छन ।

 

हुलाक तर्फ

 

जिल्ला हुलाक १, इलाका हुलाक १०, अतिरिक्त हुलाक ३८, हुलाक प्रतिनिधि ३८, पत्र वितरक ३३, पत्र वाहक ४६ रहेका छन ।

 

वन तर्फ

 

जिल्ला वन कार्यालय १, इलाका वन कार्यालय १, रेञ्ज पोष्ट ८, सामुदायिक वन संख्या २८०, सामुदायिक वन क्षेत्र २,४९?४४.५ हेक्टर छ । जिल्लाको कुल वन क्षेत्रफल ७२,६९४.३ हेक्टर रहेको छ ।

 

विद्युत तर्फ

 

जिल्लामा विद्युत सेवा दिने श्रोतहरु झिमरुक जलविद्युत केन्द्र ( जिल्ला भित्र नै उत्पादीत विद्युत केन्द्र हो ।) र नेपाल विद्युत प्राविधिकरण रहेका छन । झिमरुक जल विद्युत केन्द्र मार्फत ११ गा.वि.स. र नेपाल विद्युत प्राविधिकरण मार्फत १७ गा.वि.स.गरी जम्मा २८ गा.वि.स.मा आंशििक विद्युतीकरण भएको छ ।

 

धार्मिक तर्फ

 

जिल्ला स्थित धार्मिक तथा पर्यटकीय स्थलहरुमा देश भित्र र वाहिर सम्म चर्चित भएको तिर्थ तथा पर्यटकिय स्थल स्वर्गद्धारी यसै जिल्लाको स्वर्गद्धरीखाल गा.वि.स.मा पर्दछ । त्यस पछि एरावती, गौमुखी, कालिका मन्दिर, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह आदी स्थलहरु तिर्थ स्थलको रुपमा प्रसिद्ध छन ।

 

पर्यटकिय स्थल

 

जिल्ला स्थित पर्यटकिय स्थलहरुमा स्वर्गद्धारी, एरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट आदी स्थलहरु पर्यटकिय स्थलको रुपमा परिचित छन ।

 

डल्ले सराँए

 

 

नेपाल बिभिन्न संस्कृतिले भरिएको देश हो यहाँको सांस्कृतिक परम्परा आफ्नै विशेषताले भरिएको प्राकृतिक विविधता सांस्कृतिक विविधता नेपालका विशेषता नै हुन् यहाँ यसै प्रसंगमा एउटा मेला पर्वको बारेमा परिचय गराउने जमर्को गरिएको

 नेपालको मध्यपश्चिम क्षेत्रमा पर्ने राप्ति अञ्चलमा प्युठान जिल्ला पर्दछ पवित्र तीर्थस्थल स्वर्गद्धारी यस जिल्लाको महत्वपूर्ण ठाउँ मानिन्छ यस जिल्लाको बिच भागमा झिमरुक नदीले रमाइलो उपत्यका बनाएर बगेको यो फाँट अत्यन्त मलिलो उब्जाउ युक्त छ यस फाँटको बिच भागमा विजुवार बजार माथि डाँडामा खलंगा बजार रहेको यी दुइ बजारले यसको निकै शोभा बढाएको

प्युठानवासीहरुको
पनि आफ्नै विशेषता बोकेको मेला चाड पर्वहरु छन् त्यस मध्ये डल्ले सराँए एउटा महत्वपूर्ण एतिहासिक मेला हो यो मेला दीपावली अर्थात भाइटीकाको भोली पल्ट लाग्दछ यस मेलाको प्रचलन सम्बन्धमा एउटा रमाइलो किम्वदन्तीमा पाइन्छ । कथाको घटना यस प्रकार रहेको पाइन्छ   धेरै बर्ष पहिले अर्थात वाइसी चौबिसी राजाको पाला भन्दा अगाडी प्युठान जिल्लाको भित्रिकोट भन्ने ठाउँमा एउटा राज्य थियो त्यहाँको जंगलमा एउटा भीमकाय राक्षस पनि बसेको थियो त्यो ज्यादै बलियो थियो त्यहाँका बासिन्दाहरुलाइ यहीनै ठुलो दु: थियो त्यसले आफ्नो आहारनै मानिसको रगत मासु बनाएको थियो त्यहाँको बासिन्दाको जीवन अनिश्चितता भयताले भरिएको थियो कहिले कुन त्यस दानवको शिकार बन्ने हो थाहा हुँदैनथ्यो यति भएर पनि त्यहाँका वासिन्दा त्यहाँ वस्न विवस थिए जाउन पनि कहाँ ? दानवको त्यस्तो स्वभाव देखेर राजा समेत धेरै मानिसहरुको समुहले सल्लाह गरेर साक्षसलाइ दिनको जना उनको आहार बन्ने निधो गरे राक्षसलाइ खुसी बनाउने  प्रयास गरे मानिसहरुको त्यो प्रसासबाट पहिले राक्षस गर्जियो तर पछि आहार खोज्न जानु नपर्ने भएको देखेर मन्जुर गर्यो यसबाट त्यहाँका मानिसमा केही सन्तोष भयो किनभने अब राक्षसको जथाभावि हमला हुने भएन यसरी प्रत्येक दिन एक जना राक्षसको शिकार बन्ने कुरा सामुहिक रुपबाट निर्णय गरियो त्यो नियम सबैले मान्नु पर्ने भयो यो चलन चल्दै गयो

समय वित्दै गयो एक दिन एउटा घरको पालो परेछ त्यो दिन भाइ टिकाको दिन रहेछ चाडँ वाडको रमाइलो दिन एउटा मानिस मर्नु पर्ने । यस्तो कठिन स्थिति आइपर्यो, दिन नरमाइलो रुन्चे भएर वित्यो राती एक जना अबस्य दानवको शिकार बन्न जानु छ। संयोग त्यसै दिन बेलुका एक जना बटुवा त्यही घरमा बास माग्न पुगेछ बटुवा चलाख बलियो युवक थियो वटुवालाइ त्यस घरमा वास गाँसको ब्यबस्था मिल्ने भयो खानपिन पछि बटुवा बाहिर पेटीमा सुत्ने भएछ त्यस घरमा खासखुस सुँक्क सुँक्क रुवाइको आवाज आउन थाल्यो चार जना परिवारमा आज रात देखि तिन जना मात्र हुनुछ बुढा आफु बुढो भएको काम गर्न पनि कठिन हुने भनेर आफै जाने विचार राख्छ बुढी बुढालाइ मारेर आफु बाँच्न चाहदैनिन् आफु जान खोज्छीन् छोरा बाबु आमालाइ पठाएर आफु बाँच्न चाहदैन त्यस्तै छोरी पनि भन्छिन् सबै आ–आफ्नै कर्तब्य बताउँछन् रुवावासी चल्छ त्यो आवाज सुनेर बटुवाले भित्र गएर सबै कुरा सोध्दछ बुढाबाट सबै बिस्तार थाहा पाउँछ बटुवा एकछिन घोरिएर सोच्छ त्यो दिनमा आफु जाने बिचार गर्छ बटुवाको बिचारले सबै परिवार डाराउँछन् पाहुनालाइ पठाउन नहुने कुरा गर्दछन् बटुवाले सबैलार्इ सम्झाइ आफै जाने बिचार राख्छ एउटा कोदालो तरवार  लिएर त्यस दिशा तिर जान्छ त्यो निर्धारिता ठाउँ भन्दा केही तल खेतमा सानो आफु लुक्न सक्ने खाडल खन्छ माथिबाट माटो स्याउलाले छोपेर लुक्ने गर्छ नजिकै केराको खम्बालाइ आफ्नो कपडा लगाएर सुताइ दिन्छ राक्षस रातको ठिक समयमा गुफाबाट निस्केर आहार खोज्छ त्यहाँ पाउँदैन यताउती खोज्छ देख्दैन रिसले चुर हुँदै यताउती दगुर्छ तल खेतमा मानिस सुतेको जस्तो देख्छ जोडले दगुर्दै त्यहाँ जान्छ भन बजिया तँ यहाँ किन सुतेको सुत्यै छस् ? रिसले चुरिदै घोप्टो परेर दारा धस्न मात्र के लागेको थियो बटुवा बाहिर आएर न्वारन देखिको बल लगाएर तरवार चलाउँछ राक्षसको घाँटी सजिलै पार गरेर दुइ भाग लागाउँछ राक्षासको टाउको बोकेर बटुवा त्यही राक्षसको गुफामा गएर भित्र ढोका ढप्काएर सुत्छ रात भरिको परिश्रम थकाइले बटुवालाइ अर्को दिन १० ११ बजेको थाहै हुँदैन

 

यता अर्को दिन त्यस पालो परेको घरमा कुनै पनि नगएको हल्ला चल्न थाल्छ घरका मानिसको पनि होस ठाउँमा हुँदैन त्यो खबर राजा कहाँ पुग्छ त्यहाँबाट बुझ्नलाइ बोलाइन्छ त्यो खबरले अब के के हुन्छ आफ्नो पालोमा नगएको भन्ने कुराले त्यस घरको सबैको सातो पुत्लो उडेको हुन्छ राजाले सोध्छन्, हिजो तिम्रो घरबाट को गयो ? बुढाले डराइ डराइ सबै बताउँछन् यस्तैमा तल खेतमा राक्षस सुतेको कसैले खवर ल्याउँछन् सबै हात हतियार सहीत त्यो हेर्न जान्छन् त्यस बेला राक्षस उठेर सबैलाइ मार्ने हो की भन्ने डरले तरवार लिएर गएका हुन्छन् नजिकै पुगेर हेर्छन राक्षस मरेको हुन्छ सबै खुसिले नाच्छन् सबैको हातमा तरवार हुन्छ बाजाहरु समेत बजाउँछन् खुसीले खै ! खै ! अर्थात राक्षस मार्ने पाहुना खै भनेर नाच्दछन् त्यो परम्परा अहिले सम्म चल्दै आएको प्रत्येक बर्ष प्युठानको डल्ले सराँए भन्ने ठाउँमा यो मेला लाग्दछ ठुलो ब्यापार र रमाइलो मेला हुन्छ यो एक एतिहसिक मेलाको रुपमा परिचित हुँदै आएको छ ।

 

 

लुङको देवाली
लुङको देवाली नेपालको प्युठान जिल्लाको लुङ गाउँ विकास समितिमा लाग्ने प्रसिद्ध जात्रा हो। प्युठान जिल्लामा पर्ने लुङ गाविसमा बसोबास गर्ने खत्री, बाहुन, कामी, दमाई, रोका, मगर, थापा, बस्नेत, खनालबाहेक कोही थिएनन्। खास भन्ने हो भने खत्रीहरूको बाहुल्यता थियो। देवाली गर्दाका वर्षआफ्ना घरहरू धेरैजसोले रातो माटो र केही घरहरू सेतो माटो (कमेरो)ले पोतेर सिंगार्थे। खत्री पूजारीले सुराही समातेर घर-घरमा गएर बोका मनाउँथे। उनलाई घोमे पुजारा भन्थे। बोका बोकी टाउका अर्को दिन या दोस्रो दिन त्यसलाई मुड ढाढ्ने भन्थे। एउटा बोका चढाउनेले टाउको पाउँदैनथ्यो।

परापुर्व कालमा धनञ्जय गोत्रका एकजना ब्राम्हण त्यस गाउँमा आई बसोबास गरेछन्। ती ब्राम्हणका दुई श्रीमती थिए। एक थिइन्- बाहुनी, एक थिइन्- क्षेत्रिनी। ती दुबैबाट सन्तान पैदा भए। बाहुनीबाट जन्मेकालाई उपाध्याय र क्षेत्रिनीबाट जन्मेकालाई क्षेत्री नामाकरण गरिदिएका हुन् र खत्री क्षेत्रीलाई खत्री पुजारा र उपाध्यायलाई बाहुन पुजारा भनेका हुन्। लुङको देवाली ब्राम्हणबाट सञ्चालन नगरी संयुक्तरूपमा खत्री र बाहुनले पूजा गर्ने गर्दछन्।

केसीको उत्पति

श्रीबहादुर खत्री हुन् खत्री क्षेत्रीको जलाती, धनवीर खत्री क्षेत्रीका पलाती, फर्सराम खत्री क्षेत्रीका नाति सिर्द्धार्थमान खत्री क्षेत्रीका छोरा दानबहादुर खत्री क्षेत्रीले एसएलसी परीक्षा दिदा दानबहादुर केसी लेखेकाले सबै खत्रीहरूले केसी लेख्न थाले। अब त्यहाँ खत्री क्षेत्रीहरूले केसी लेख्दै आएका छन्।रिजालको उत्पति
किशन उपाध्यायका जलाती, वालिम उपाध्यायका खलाती र एकमान्त उपाध्यायका नाति शशीधर पण्डित(जैशी) उपाध्यायका छोरा २०१४ सालमा भुवनेश्वर उपाध्यायले भुवनेश्वर रिजाल लेखेका छन्। काँशीराम उपाध्यायका जलाती, भागीरथ उपाध्यायका पलाती, कुलानन्द उपाध्यायका नाति, ऋषिराज उपाध्यायका छोरा २०२८ सालमा रिजालपछि पैदा भएको देखिन्छ।


प्युठान जिल्लाका मठ मन्दिरहरु

 खलंगा शिवालय मन्दिर

प्युठान खलंगा सिकुवा डाँडामा अवस्थित रामेश्वर महादेवको मन्दिर स्थापना पुर्व पौवा वनेको थियो । अनुश्रीत अनुसार इशाको पन्ध्रौ सताव्दी तिर जय मल्ल नामक राजाले पाटी पौवा चौतारी वनाइ गुठी राखि दिएका थिए । सिकुवा डाँडाँमा पौवा स्थापना गरी अक्षय तृतियाको दिनमा भोज भत्यार खुवाउन र नित्य पुजाको निम्ति ९०० मुरी खेत गुठी राखेकोमा यसैवाट कट्टी गरी शिवालय गुठी राखियो । वि.स. १८६१ को रुक्का पत्रमा यसको गुठी वारे उल्लेख छ । मन्दिरमा नित्य पुजा आजा गर्दा वजाइने नगरा , रासा, धोपा आदिको व्यवस्था गर्न वैशाख महिनाभर वटुवाको लागि सर्वत खुवाउन र जात्रा खर्चको समेत स्थानिय जनताहरुलाइ उछाउनी, पछाउनी, झारा, वेगारी नलागोस भनी ३५० मुरी जग्गा गुठी राखिएको थियो । यहाँ विभिन्न भक्तजनहरुले विभिन्न वस्तुहरु चढाउने क्रममा वि.स. १९२४ को हुकुम मर्जी वमोजिम कप्तान धोलक सिं वस्नेतले घण्टा चढाएका थिए । यहाँको प्यागोडा शैलीको मन्दिर वर्गाकारको जगातीमा आधारित छ । एकतले तथा दुइ छाने यस मन्दिरको आधारको आधार पेटीका भु सतह देखि करीव २ फिटको उचाइमा छ । स्थानिय भेगमा पाइने काठ, ढुंगा, टायल तथा धातुको उपयोग गरी वनाइएको यस मन्दिरको वरीपरी कलात्मक काठको स्तम्भवली छन । यसको वरण्डा नै प्रदक्षिण पथको रुपमा प्रयोग गरिएको छ भने पुर्व र पश्चिम पट्टी प्रवेशद्धार, उत्तर र दक्षिण पट्टी आँखी झ्यालहरु छन । काठमाण्डौ उपत्यकाका अधिकांश शिवालयहरुको चारैतिर प्रवेशद्धार हुन्छन भने यसको आफ्नै विशेषता छ । पूर्वपट्टीको प्रवेशद्धारको दायाँ वायाँ भित्तामा भैरव तथा पार्वतीका मुर्ति राखिएका छन । दुवै छाना टायलले छाइएको यस मन्दिरको माथिल्लो पट्टी कलात्मक गजुर छ । माथिल्लो तलाको झ्याल पनि सामान्य छ भने तोरण तथा टुँडालहरुमा कलात्मक आकृतीहरु अंकित गरिएका छन । मन्दिरको गर्भगृहमा शिवलिंग स्थापना गरी वरिपरि प्रस्तुत मुर्ति तथा साँढेको आकृति वनाइएको छ । यो मन्दिर आधुनिक कलाको कलात्मक कृति भए पनि पुरानो शैली र ढाँचा जगेर्ना गरेको हुँदा वास्तुकलाको दृष्टिले महत्वपुर्ण छ ।

 

खलंगा भिमसेन मन्दिर

 

नेवारहरुको वाहुल्यता भएको खलंगा तथा विजुवार वजारमा भिमसेनका कलात्मक एवं आकर्षक प्यागोडा शैलीका मन्दिरहरु छन्‍ । खलंगाको भीमसेन मन्दिरको गर्भगृहमा शास्त्रीय आख्यान अनुकूलका प्रस्तर मूर्ति र यसको आपसमा काठ ढुङ्गाका मूर्तिहरु पनि रहेका छन्‍। । स्थानीय भक्तजनहरुले यी मुर्तिहरुलाइ भीमसेनका दाजु भाइ भन्दछन्‍ । मुर्तिमा भीमसेनलाइ उभिएको आकृतिमा तरवार र ढाल लिएको देखाइएको छ । दुइ तले पूर्व पट्टि प्रवेशद्धार भएको यो मन्दिरको तल्लो तल्लामा गर्भ गृह छ भने प्रदक्षिणको निमित्त सामान्य आधार पेटिका वनाइएको छ । एउटा मात्र प्रवेशद्धार भए पनि कलात्मक दृष्टिले विशेष उल्लेखनिय छ । यसको माथिल्लो पट्टी अर्ध चन्द्रकारको तोरणले फुल वुट्टा पशु पंछी तथा भयावह आकृती अंकित गरी तान्त्रिक प्रभावको प्रतिनिधित्व गरेको छ । यसको पुजा आजा जनसाधारणवाट हुदै आएकोमा वि.स. १८८२ मा धोवाघाट बाँझवारी र काफलवोटमा ४५ मुरी खेत गुठी राखिएको थियो ।

 

खलंगा गणेश मन्दिर

 

खलंगा वजारमा अवस्थित गणेशको मन्दिरको जगती वर्गाकारको छ । भु सतह देखि १ फीट माथि अवस्थित यो मन्दिर एक तले तथा दुइ छाने प्यागोडा शैलीमा आधारीत छ । मन्दिरको तल्लो तहको दक्षिण पट्टी भित्तामा एउटा ढोका र पुर्व पश्चिममा दुइवटा आँखि झ्यालहरु वनाइएका छन । यसको तोरणमा धातुको जलप वनाइ कलात्मक एवं आकर्षक वुट्टा सहित सजाइएको छ । मुलद्धारको माथिल्लो पट्टी पित्तलको कलात्मक तथा आकर्षक गजुर वनाइएको छ । यसको गर्भ गृह उत्तर पट्टी अवस्थित गणेशको प्रस्तर मुर्तिकाल क्रममा निकै खिर्इएको छ । यहाँ भिमसेनको प्रस्तर मुर्ति पनि देखिन्छ । यसको संचालन तथा मर्मत संभारको निम्ति गुठी राखिएको छ ।

 

निर्मलनाथको मन्दिर

 

दाखाक्वाडीमा अवस्थित निर्मलनाथलाइ प्युठानी राजा पृथ्वीपति शाहले गुठी दिइ ताम्रपत्र वनाइ दिएका थिए । वि.स. १७६० मा यसलाइ खोलाखेत एकसय मुरी र डिहीवारी समेत गुठी दिइ कसैले अवरोध खडा नगरोस भनी ताम्रपत्र वनाइ दिएका थिए । यहाँ अवस्थित प्यागोडा शैलीको मन्दिर स्थानिय काठ, ढुंगा, टायल आदी भौतिक सामाग्रीहरुको संयोजनले वनाइएको छ । वर्गाकारको जगती माथि अवस्थित यस मन्दिरको पश्चिम पट्टि मूल प्रवेशद्धार छ । वर्गाकारको जगती माथि अवस्थित सामान्य शैली र ढाँचामा आधारीत देखिन्छ । यसका दुइ छाना टायलले छाइ बीचमा माटोको गजुर राखिएको छ । यसको तोरण र टुँडालहरु सादा र सामान्य छन । यसको गर्भगृहको विचमा योगी निर्मलनाथको र छेउमा शिष्यको समाधि र त्यसको उत्तर पुर्व कुनामा भैरवको मुर्ति राखिएको छ । काठमाण्डौ उपत्यकाका भैरव आदि केही तान्त्रिक देवताहरुको केही मन्दिरहरुमा आयतकार पनि छन त्यस्ता मन्दिरमा मुर्ति माथिल्लो तलामा राखि तल्लो तलामा वस्ने स्थान वनाएको देखिन्छ । तर यस थानको समाधि र कुनामा चलायमान भैरवको मुर्ति छ । भैरवको उल्लेख भने एतिहाँसिक कागजपत्रमा देखिए पनि खास शैलीगत आधारमा मध्यकालीन देखिन्छ ।

 

कालिका मन्दिर

 

विजुवार वजारमा अवस्थित कालिका मन्दिर सत्रौ अठारौ शताव्दीको शक्ति पिठ हो । भारत तुल्सीपुर नजिकै अवस्थित पाटन देविको पर्वमा पूजा आजा गर्न प्युठानका भट्ट व्राहमणहरु जान्थे भने कालान्तरमा कालिका देवीको पुजा आजा गर्न थाले । राजगुठी पौवा गुठी ग्रहण गरी आएका पुजारीहरुले सामान्य ढंगले दायित्व पुरा गर्दछन । वि‌‌‌‌ स‌ १९६७ को गुठी पत्र पाइए पनि यस भन्दा अधि देखि नै लोकपि‍‍य हुँदा संरक्षण तथा संचालनको व्यवस्था सरकारी क्षेत्रवाट गरिएको प्रतित हुन्छ । यहाँ धर्मभिरु व्यक्तिहरुले विभिन्न सामग्रीहरु चढाउने सिलसिलामा पुराना सामाग्रीहरुको अस्तित्व फेला नपरे पनि वि.स. १९४४ र वि.स. १९६० मा घण्ट तथा चाँदी दिइएको देखिन्छ । प्युठान तथा अन्य छिमेकी क्षेत्रका जनताहरु आफ्नो फलोच्छा पुर्ति गर्ने कामनाले कालिका मन्दिरमा वली पुजा गर्ने प्रचलन छ । यो मन्दिर एक तले र एक छाने वनाइ वरीपरी प्रदक्षिण पथ वनाइएको छ । दक्षिण पट्टी प्रवेशद्धार भएको यस मन्दिरको वरीपरी प्रदक्षिण पथ वनाइ तोरण भने पुरानो मन्दिर कै वनाइएको छ । हालको परिवर्तित रुपमा टुँडालको आवश्यकता नदेखिदा भित्तामा टुँडाल सजाइएको छ । टुँडालहरुमा सिंह, अप्सरा, वृक्ष, लतापातका आदि अंकित छन । नयाँ मन्दिर भने पुरानो शैली भन्दा भिन्न ढंगले बनाइएको छ । यस क्षेत्रको महत्वपुर्ण शक्ति पीठ भएकोले अद्यापी यसको स्थान महत्वपुर्ण छ ।

 

यस क्षेत्रमा जे जति मन्दिरहरु छन अधिकांश प्यागोडा शैलीमा आधारीत छन भने शिखर (देवल) चैत्य विहार नदेखिनु यहाँको आफ्नो विशेषता हो । भित्रीकोट दरवारको भौतिक अस्तित्व भु सतहमा छितर वितर छ । आवशिय भवनहरु पनि तला र तहै तहको छानो भएका छन भने आधुनिक शैलीको प्रभाव पारेकोले परम्परागत शैली लोप हुदै गएको छ । भित्रीकोट राज दरवार क्षेत्रमा पहाडको टाकुरामा जिण्रोदारको प्रतिक्षामा रहे पनि न त गुठी न प्रशासन पुरातत्व विभागको ध्यान यतातिर आकर्षित भएको छ । राजा मणििक चन्दले गुठी प्रदान गरी स्थापित मेहेलेनाथको मन्दिर पनि खिइदै गएको छ । यहाँ अठारौ शताव्दीमा भने विशाल मन्दिर भएको तथ्य प्राप्त एतिहासिक सामाग्रीहरुले संकेत गर्दछ । वाग्दुला तालको गुफा पनि वस्तु कला कै अभिन्न अंग हो । यहाँको प्राचिनता प्रमाणित गर्ने साधन र श्रोतको अभाव रहे पनि पाषण युगसंग सम्वन्ध देखिन्छ । हाल भने शिवानन्द नामक योगीले चित्र कोरी नजिकै शिव र गणेशको मन्दिर निर्माण गर्न थाल्नाले यसको प्राचिनता पुनर्जिवित हुन थालेको छ । स्वर्गद्धारीका शिवालय तथा आठकुने यज्ञशाला धार्मिक तथा वास्तुकलाको दृष्टिले पनि कम महत्वका छैनन ।

 

कात्रे खोले झाक्री

 

ज्यादै रिसाहा मानिने र प्रसन्न भएमा चाडै प्रभावित हुने भनी मानिने मध्य पश्चिमाअञ्चलका प्राय सवै जिल्ला र पश्चिमाअञ्चलका पनि केही जिल्लाका वासिन्दा प्रभावित भएका झाक्री महाराज र तिनको निवास मानिने प्रकृतीले पूर्ण प्युठानको सदरमुकाम खलंगा देखि दक्षिण पश्चिममा पर्ने कात्रे खोला प्युठानको महत्वपुर्ण तिर्थ स्थल मध्य एक हो । खलंगा देखि लगभग तिन किलोमिटर दक्षिण पश्चिम कात्रे खोलाको मध्य भाग तिर पूर्व भैरम डाँडा र पश्चिम वुढी चौर वस्तीको बिच भागमा साँगुरो गल्छी परेको ठाँउमा कात्रे खोले झाक्री वा झाक्री स्थान रहेको छ । यहाँको प्राकृतिक वनोट अत्यन्त सुरम्य छ । झाक्री स्थान प्रतिको श्रद्धा र डर दुवै कारणले गर्दा यहाँको हरियालीलाइ कसैले दखल दिन सक्दैनन । यसै शोभा भित्र खिर्रो र फलेदाको ठूलो रुख छ । तिनै रुखलाइ वरीपरी घेरेर चौपारीको आकार दिइएको छ । त्यही आकारलाइ झाक्री स्थान भनिन्छ । रुखको फेदमा पितलले वनाएको झाक्रीको मुकुट आकार छ । वरीपरि त्रिसुल र घण्टहरु भुण्डाइएका छन । ति वेला वेलामा श्रद्धालुहरुवाट अर्पण गरिएका हुन । झाक्रीको कुनै सरकारी वा व्यक्तिगतत गुठी र आजा पुजाको व्यवस्था छैन । केवल समस्याबाट मुक्ति पाउन गरिने वाचा कवोल र प्राप्ति पछि गरिने पूर्तिवाट मात्र अनियमित पुजा हुन्छ । वडा दशै र चैते दशैमा यहाँ वढी घुँइचो हुन्छ । यहाँ टाढावाट आउनेको वढी घुँइचो देखेर मन्दिर वनाउने चेष्टा गर्दा पूर्ण नहुदै पटक पटक भत्केको र झाक्री महाराज जेल जस्तै सानो मन्दिर भित्र खुम्चेर वस्न नचाहने कुरा पहिले कसैलाइ सपनामा भनेको किंवदन्ती पनि सुनिन्छ । यहाँ पुजामा मंगलवार र शनिवार वढी घुइचो हुन्छ । पुजा गर्न सकभर वार पार्ने चलन छ । झाक्रीलाइ वली दिने प्रचलन छ । वलीमा हाँस, कुखुरा, बोका, पाडा आदि दिइन्छ । अन्यमा रोटको पनि भोग दिइन्छ । गहुँ वा चामलको एक मानो पिठोमा औकाद अनुसार अन्य मरमसला राखी त्यसको एउटै ठोस रोटी वनाएकोलाइ रोट भन्ने प्रचलन छ । धुप धजाका साथै गाइको दुधको धार पनि दिइन्छ । खाँचो परेको बर माग्दा र कवोल पुरा गर्दा झाक्री केही वहिरो भन्ने विश्वास गरी साह्रो डाको गरी सुनाउने चलन छ । नजीकै पाटी भए पनि निर्जन ठाँउ हुँदा एक्लै दोक्लै जाँदा हपहपी लाग्छ र छुटपुट सामान सरनतरन गर्ने मौका मिल्दैन । खहरेको वायाँ पट्टी केही माथि जंगलका बिच ज्यादै चिसो पानी भएको एउटा सानो दह छ । त्यहाँ गाइको धार दिदा पशु फाप हुने विश्वास गरिन्छ । प्राय प्युठान भर र आस पास समेत अतिरिङ्क्त खाद्य वस्तु वनाउदा वा यज्ञ आदि गर्दा सिमे भुमे स्थाने मण्डली कुल कुलायन लाइ अग्रभाग चढाउदा झाक्री लाइ पनि चढाउने चलन छ । केही दिने विश्वास दिलाइ मिच्चाइ अथवा भुलवाट न छुटोस भनी निकै सर्तकता अपनाइन्छ । उनी क्रोधित भएमा ठुलो क्षति वेहोर्नु पर्ने विश्वास गरिन्छ । अत पुजामा डरको भुमिका पनि रहेको छ । आस्तीकलाइ आस्था, प्रकृतिको आनन्द लिनेलाइ रमणिय वातावरण , एकान्त मन पराउनेलाइ निर्जनता, वन भोजमा रमाउनेलाइ मनोरम दृश्य भएको यो मनरोम ठाँउमा सुव्यवस्था गर्न सके पर्यटकिय स्थल हुन सक्ने र दक्षिणकाली जस्तै चम्कन सक्ने पर्याप्त सम्भावना छ ।

 प्युठान जिल्लाको गाँउ विकास समितिहरुको नामावली र विवरण

 

अर्खा, विजयनगर ,दाखाक्वाडी, वर्जिवाङ ,वेलबास ,सारी ,स्वर्गद्धारी खाल, कोचिवाङ ,भिंगृ ,गोठीवाङ, नयाँगाउँ, उदयपुरकोट, मर्कावाङ ,तिराम ढुंगेगढी ,वांगेशाल, हंसपुर, दाङबाङ, बरौला ,पकला ,धुवाङ ,रम्दी ,रस्पुरकोट, खैरा ,विजुली, खलंगा, धरमपाजी, चुँजा ,मरन्ठाना, तोरवाङ ,वांगेमरोट, ओखरकोट, वादीकोट ,नारीकोट ,रजवारा ,खुङ ,पुँजा, तुसारा ,लिवाङ,जुमृकाँडा ,स्याउलीवाङ ,डामृ , लिघा ,खवाङ ,लुङ, धर्मावती ,विजुवार ,फोप्ली , माझकोट

 

 


   
Today, there have been 186599 visitors (309245 hits) on this page!
=> Do you also want a homepage for free? Then click here! <=
Thank You, Visit Again.